
नेपालगन्ज, साउन २४ । नेपालगन्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ ।
‘महानगरपालिका बनाउन के–कस्ता पूर्वाधार आवश्यक पर्छन् ? भौगोलिक क्षेत्र कति बढाउनुपर्छ ? जनसंख्या कति हुनुपर्छ ? भौतिक पूर्वाधारको विस्तारलगायतका सम्भावनाबारे छलफल चलाएका छौं’–नगरप्रमुख डा. धवलशमशेर राणाले भने ।
महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु २५ लाखसमेत छुट्याइएको छ ।
प्रदेश नम्बर–५ सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउन योजना अगाडि सारेको छ ।
सोही अवधारणाअनुसार नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको हो ।
प्रदेश नम्बर–५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगन्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ ।
‘अबको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइसक्छौं’–राणाले भने ।
बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउनसकिने आधारमा अध्ययन थालिएको हो ।
महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ । रासस
प्रतिक्रिया दिनुहोस्