२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बी डिभिजन लिग : बाँसबारीको ६–० को जित, वीरगञ्ज र रानीपोखरी तथा चर्च ब्वाइज र श्रीकुमारीले अंक बाँडे


13
Shares

काठमाडौं । राजेश पौडेलको ह्याट्रिकको सहयोगमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि आधा दर्जन गोल गरेको हो ।

एकतर्फी जस्तो भएको खेलमा बाँसबारीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भएको थियो ।

जितसँगै बाँसबारीले चार खेलबाट तालिकामा ४ अंक जोड्दा फराकिलो हार भोगेको मध्यपुरको समान चार खेलबाट ३ अंक छ ।

शनिबार नै भएको अर्को खेलमा वीरगञ्ज युनाएटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका हुन् ।

यस्तै तीन खेलबाट तालिकामा शीर्षता कायम गरेको चर्च ब्वाइजले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको छ ।

अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको चर्च ब्वाइजले ४७औं मिनेटमा लिएको अग्रता कायम राख्न नसक्दा कुमारीसँग अंक बाँडेको हो ।