
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आज (मंगलबार) नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नुभएको हो ।
ज्ञानेश्वरमा प्रवर्द्धन केन्द्र उद्घाटन गर्नुहुँदै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका थापाले आफू स्वास्थ्य मन्त्री रहेका बेलामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने काम अघि बढेको बताउनुभयो ।
आफू सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको उल्लेख गर्दै उहाँले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताउनुभयो । यस केन्द्रले वडावासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, विभिन्न रोग लाग्नै नदिन जनचेतना फैलाउने र सहुलियतमा औषधिको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।
यस्ता केन्द्र प्रत्येक वडामा हुनुपर्ने उहाँले जोड दिनुभयो । उहाँले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गर्ने उल्लेख गर्नुभयो ।
केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रको सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने बताएको छ ।
वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिईने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्