२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खलंगा दशरथचन्द मेयर कपको फाइनलमा, बाराकोट बाहिरियो


91
Shares

बैतडी । जिल्लाको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा खलंगा विजयी भएको छ ।

बाराकोटलाई ५ विकेटले स्तब्ध पार्दै खलंगा उपाधि नजिक पुगेको हो । खलंगा गत संस्करणको विजेता पनि हो । बाराकोटले दिएको १ सय ३१ रनको लक्ष्य खलंगाले १४.३ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो ।

खलंगाको लागि प्रदीप चन्दले ४९ र गोविन्द चन्दले नटआउट ४० रनको योगदान गरे । बाराकोटका दिनेश चन्द र दिनेश बुडालले २/२ विकेट हात पारे ।

त्यसअघि निंग्लाशैनी खेल मैदानमा पहिला ब्याटिङ गरेको बाराकोटले निर्धारित २० ओभरमा १ सय ३० रन मात्रै बनाउन सक्यो । महेश सिंह बुडालले ५१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान चलेनन् ।

गोपी नाथले ३ र विरेन्द्र चन्दले २ विकेट लिए । खलंगाका प्रदीप चन्द म्यान अफ द म्याच चुनिएका स्कोरर खेमराज भट्टले जानकारी दिए ।

उपाधिका लागि खलंगाले दशरथचन्द र थालिगडाको बिजेतासँग बुधबार भिड्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अहिले केहीबेरमा हुँदैछ ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी छन् ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।