
काठमाडौं । रंगहरुको पर्व होलीको अवसरमा ईमेज च्यानलले भोलि (बिहीबार) ‘होली विशेष’ कार्यक्रमको आयोजना गर्ने भएकाे छ ।
ईमेज च्यानलले विगत केही वर्षयतादेखि होलीका दिन गर्दै आएको सांगीतिक कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।
काठमाडौंको त्रिदेवीमार्ग ठमेल (कर्मचारी सञ्चयकोष भवन अगाडि) मा आयोजना गरिने साे कार्यक्रममा विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुति समेत हुनेछ ।
काठमाडौं महानगरपालिका वडा नंं २६ को सहकार्यमा हुने हाेली कार्यक्रम बिहिबार बिहान १० बजेदेखि सुरू हुनेछ । होली विशेष कार्यक्रममा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ ।
साे कार्यक्रमलाई ईमेज च्यानल र ईमेज खबरको फेसबुकबाट समेत प्रत्यक्ष प्रसारण गरिने छ ।
विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिईन्छ ।
होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्