
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधबारको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
युएईको सारजाह मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको हो ।
उसका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रन बनाए । टोनी उरा २७, लेगा सियाका २५, असन भाला १९, नरमन भानुवा २३, चाड सोपर ३५ रनमा पेभेलियन फर्कँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले तीन विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक–एक विकेट हात पारे ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो । नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पपुवा न्युगिनीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
७ टोली सहभागि रहेको लिग–२ को यात्रामा नेपालले अहिलेसम्म ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १३ खेलमा १३ मानै हारका साथ पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्