२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तीन महिनापछि भारतले बल्ल पठायो राजदूत शर्माको एग्रिमो


156
Shares

काठमाडौं । भारतले आफ्ने देशका लागि प्रस्तावित नेपाली राजदूत डा. शंकर शर्माको एग्रिमो पठाएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।

भारतबाट डा. शर्माका लागि एग्रिमो आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । एग्रिमोसम्बन्धी पत्रमा भारतले मंगलबारको मिति राखेको छ । अब शर्मालाई राष्ट्रपति विद्या भण्डारीले भारतका लागि नेपाली राजदूत पदमा नियुक्ति दिनुहुनेछ ।

शर्मासँगै एकै मितिमा अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा पत्राचार गरेको थियो । बेलायत र अमेरिकाले तीन महिना नबित्दै एग्रिमो पठाइसकेका थिए ।

तर, भारतले नेपालका कूटनीतिहरूसँगको कुराकानीमा विधानसभा चुनाव र विदेशमन्त्रीको व्यस्ततालगायत कारण देखाउँदै शर्माका लागि अग्रिमो पठाएको थिएन । सामान्यतयाः आग्रह गरेको ४ देखि ६ हप्ताभित्र एग्रिमो पठाइसक्ने चलन छ ।

डा. शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत भइसक्नुभएको छ । अर्थशास्त्री शर्माले राष्ट्रिय योजना आयोग उपाध्यक्षको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो ।

२०७५ माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले निलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पछिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले गत असोज ५ गते राजनीतिक नियुक्तिका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको थियो ।