२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कार्यकर्तालाई प्रचण्डको निर्देशन– ‘गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउनू’

ओलीलाई पुनः प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा

6.058k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताउनुभयो ।

माओवादी आक्रामक भएर चुनावमा गएमात्र जित्ने भन्दै उहाँले रक्षात्मक मात्र भएर चुनावमा जाँदा सोचे अनुसार नतिजा नआउने जिकीर गर्नुभयो ।

सेटिङ गरेर चुनाव जित्न कांग्रेस–एमाले नै सिपालु भएको बताउँदै अध्यक्ष प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको तर्क गर्नुभयो ।

आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको उहाँको दाबी छ ।

नेपालमा दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने, अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले आउने सबै निर्वाचन पार्टीका लागि सामान्य औपचारिक निर्वाचनमात्रै नरहेको बताउनुभयो ।

माओवादीका लागि आउँदो निर्वाचन जीवन मरणको लडाइँ भएको उहाँको जिकीर छ ।

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको खुलासा गर्नुभयो ।

एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रूपमा प्रस्ताव गर्दा उहाँले नमानेको प्रचण्डको भनाइ छ ।

एमसीसीको विपक्षमा आफूहरू भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई प्रधानमन्त्री मानेर भए पनि आफूहरू अघि बढ्न तयार भएको उहाँले खुलासा गर्नुभयो ।