१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै


156
Shares

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा अध्यादेश मार्फत संवैधानिक परिषद सम्बन्धि प्रावधान संशोधनपछि गरिएका नियुक्तहरु विरुद्ध परेको रिटमा आज (शुक्रबार) संवैधानिक अदालतमा सुनुवाई हुँदैछ ।

संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक निकायहरुमा ५२ जना पदाधिकारीको नियुक्ति गरिएको थियो । यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले संयुक्त बेन्चमा सुनुवाईका लागि आदेश दिएकोमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले गत साता गोला प्रथा विना नै सो मुद्दालाई आफ्नो इजलासमा राखेर संवैधानिक इजलासमा पठाउने आदेश दिनुभएको थियो ।

गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका साेही मुद्दाकाे शुक्रबार बिहान ११ बजे सुनुवाई हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । साथै अन्य मुद्दाका विषयमा पनि छलफल हुने उहाँले बताउनुभएकाे छ ।

अधिवक्ता डा‍. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् ।

साेहि रिट निवेदन शुक्रबार पेशीमा चढ्ने भएकाे छ । सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्यूरी (अदालतका सहयोगी) पठाईदिन आग्रह गर्दै पत्र समेत लेखिसकेको छ ।

कामु प्रधान न्यायाधीश दीपक कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडा रहेका छन् ।

इजलासमा यसअघिको एकल इजलासको आदेश निरन्तर हुने वा नहुने भन्ने बहस हुनेछ ।