
चन्द्र कटुवाल
भस्त्र भनेको खलाति जसमा हावा भरिन्छ र आरनमा फलाम तताउनको लागि प्रयोग गरिन्छ । शरीरलाई शुद्दिकरण गर्ने षटकर्म हरु मा एउटा कर्म भस्त्रिका पनि हो ।भस्त्रिकालाई अन्य प्राणायामको लागि तयारी प्राणायाम पनि भनिन्छ । क्रिया पनि भनिन्छ र प्राणायाम पनि भनिन्छ ।
भस्त्रिका प्राणायाम गर्दा ध्यानदिनु पर्ने कुरा र सावधानीहरु
भस्त्रिका प्राणायाम सुरुवाति प्राणायम भएकोले अरु प्राणायामको लागि तयारी हो । त्यसैले यो प्राणायाम गर्नको लागि ख्याल गर्नु पर्ने कुराहरु धेरै रहेका छन्, जस्तै खाना खाएको कम्तिमा पनि ३ घन्टा पछिमात्र यो प्राणायाम गर्ने । किनकि यो प्राणायामले पेटमा अत्यधिक चाप पैदा गर्दछ, साथै धेरै थकाई लाग्ने भएकोले बिश्राम गर्दै गर्ने ।
श्वासको स्वतन्त्र आवातजावतको लागि दुबै नाक खुल्नु पर्ने भएकोले नेति गरेर वा नाक खुल्ने कुनै व्यायाम गरेर गर्नु पर्दछ । अनुहारमा तनाव उत्पन्न नगराई गर्नु पर्दछ । भस्त्रिका गर्दा टाउको दुखाई र रिंगटा लाग्ला जस्तो भएमा आराम गर्दै विस्तारै गर्नु पर्दछ । उसै त प्राणायाम गर्दा शान्त बाताबरण हुन पर्दछ ।
उच्च रक्तचाप, हृदय रोग, हर्निया, अल्सर आदि समस्या भएकाले यो प्राणायाम भरिसक्य नगर्ने, गर्नै पर्ने भएमा बिशेषज्ञको सल्लाहमा तथा योग्य प्रशिक्षको निगरानीमा मात्र गर्नु पर्दछ । साथै श्वास सम्बन्धी समस्या भएको अवस्थामा विज्ञको परामर्श लियर मात्र यो प्राणायाम गर्नुपर्छ । भस्त्रिका गर्मी याममा कम र जाडोमा धेरै गर्नु पर्दछ । भस्त्रिका गर्दा श्वास भर्दा पेट फुलाउने प्रयास गर्नुहँदैन । आँखा बन्द गरेर मनमनै ॐ को जप गर्दै अभ्यास जारी राख्नु उत्तम बिधि मानिन्छ । शरीरको भागका अत्यधिक दबाब पर्ने भएकोले कानको समस्या हुनेले गर्नु यो गर्नुहुादैन ।
भस्त्रिका प्राणायामको लागि विधि
कुनै पनि सजिलो आशनमा बस्नुपर्छ अनि ढाड तथा गर्धन सिधा पारेर श्वासलाई जोडले भित्र लिने र जोडले बाहिर फ्याक्नुपर्छ । बलपूर्वक श्वास लिने र बलपूर्वक छोड्ने कार्य लाई नै भस्त्रिका भनिन्छ । यसलाई १० मिनेटको अन्तरालमा गर्न सकिन्छ । यसलाई सुरु– सुरुमा हातको मुभमेन्ट सहित गर्न सकिन्छ । जस्तै दुबै हातलाई काँधको लाईनमा सिधा माथि लैजाने र जोडले तल झार्ने ।
जब हात माथि लगिन्छ तब जोडले श्वास भर्ने र हात तल झार्दा श्वास जोडले बाहिर फ्याक्ने, जोड हातमा भन्दा पनि श्वासप्रश्वासमा दिने हो । हात हरु त केबल श्वासलाई मद्दत गर्नको लागि मात्रै हो । भस्त्रिकाले शरीरमा अत्यधिक ताप उत्पन्न गर्दछ । त्यसैले उच्च रक्तचाप भएका बिरामीहरु तथा भर्खरै अप्रेशन गरेका तथा महिनावारी भएका महिला तथा गर्भवती महिलाले यो अभ्यास गर्दा बिज्ञको सल्लाह लिनु पर्दछ । यसलाई तीब्र मध्यम र मन्द गतिमा गर्न सकिन्छ ।
भस्त्रिका प्राणायामका फाईदाहरु
भस्त्रिका प्राणायामले वाथ, पित्त र कफको दोषलाई समन गर्छ । हाम्रो शरीरमा रहेको त्रिदोषको गडबढीलाई व्यवस्थापन गर्दछ । भस्त्रिकाले हाम्रो फोक्सोलाई जोडले तन्काउने भएकोले फोक्सो पूर्णरुपमा उपयोगमा आउँछ र फोक्सो बलियो पार्दछ । हामीले भस्त्रिका गर्दा लयबद्धरुपमा गर्ने भएकोले पेटको पाचन प्रणालीलाई फाईदा पुग्छ ।
यसले हाम्रो रक्त संचार लाई सु–व्यवस्था गर्छ । हाम्रो शरीरमा देखिने बिभिन्न चर्मरोगमा लाभकारी मानिन्छ । भस्त्रिका प्राणायामले हाम्रो सम्पूर्ण शरीरमा प्राणको संचार राम्ररी गर्ने भएकोले रोगलाई भगाउँछ वा रोगलाग्न बाट बचाउँछ ।
यसै गरि श्वास दीर्घ हुने भएकाले हाम्रो शरीर भित्र अक्सिजनको मात्रामा वृद्धि हुनुको साथै कार्वन डाईअक्साईड बाहिर निस्किन्छ र यसको साथमा शरीरका विषाक्त पदार्थहरु पनि बाहिरिन्छन । जसले गर्दा हामी स्वस्थ र आरोग्य हुन्छौं । यो महिलाहरुको महिनावारी सम्बन्धि समस्यामा पनि लाभकारी देखिन्छ । यसले हाम्रो गलालाई राम्रो गर्नुको साथै थाईराईडका समस्या भएका व्यक्तिहरुका लागि राम्रो गर्दछ ।
हाम्रो फोक्सोमा हुने बिभिन्न समस्याहरुमा लाभकारी हुन्छ । शरीरमा रहेका तन्त्रिका तन्त्रलाई राम्रो गर्छ । भस्त्रिकाको अभ्यासले मानसिक शान्ति एवं एकाग्रतामा वृद्दि गर्दछ । भस्त्रिकाले शरीर प्राण र मनलाई राम्रो गर्छ र हाम्रो शरीरलाई फुर्तिलो वनाउँछ । भस्त्रिकाले मानव संवेदनशिलतामा बृद्धि हुन गई व्यक्तिको चेतनास्तर माथि उठ्छ र उच्च दीव्य एवं सुक्ष्म तरंग ग्रहणशील हुन्छ । यसका साथै सम्पूर्ण स्वास्थ्य प्राप्ति हुन्छ । यसले कुण्डलिनी जागरणमा सहयोग गर्छ ।
प्रतिक्रिया दिनुहोस्