१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आस र त्रासमा स्थानीय तहको चुनाव


598
Shares

काठमाडौं । स्थानीय तहको चुनाव नेपालका प्रमुख राजनीतिक दलहरुका लागि ऐना प्रमाणित हुने भएको छ । यो चुनावी परिणामले प्रदेश र संघीय चुनावलाई समेत प्रभावित पार्ने भएकाले उनीहरुले स्थानीय चुनावलाई प्रतिष्ठाको रुपमा हेरेका छन् । भाषणमा आफ्नो वर्चस्व रहने दाबी गरेपनि भित्रभित्र मूलधारका सबै राजनीतिक दलका शीर्ष नेताहरु आफ्नो हैसियतमा चुनावी मैदानमा जान भने खुट्टा कमाइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तन एकातिर मन अर्कातिरको लक्षण देखिने गरी अभिव्यक्ति दिँदै कांग्रेसले अपमान गरे एमालेसँग मिलेर चुनाव लड्ने बताउँदै आउनुभएको छ । एमसीसी प्रकरणले बचेको राजनीतिक एजेण्डासमेत खोसिएपछि माओवादी केन्द्रका लागि आगामी चुनाव थाल खाउँ कि भात खाउँ भएको छ । तिनै तहमा हाल प्राप्त उपलब्धि त्यही सिंगो कम्युनिष्ट पार्टीको छत्रछायाँबाट आर्जित सम्पति हो भन्ने दाहाललाई घाँटीघाँटीसम्म थाहा छ ।

अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै बलबुँतामा ६० सीट हात पार्ने दावी गरेपनि त्यसको वस्तुगत आधार स्वयं एमाले नेतालाई थाहा छैन । ओलीको अभिव्यक्तिमा हतास बढी, आत्मविश्वास कम रहेको राजनीतिक विश्लेषकहरुको ठम्याई छ । मधेशमा बिग्रिएको छवि सपार्न सानाभन्दा साना कार्यकर्तालाई अविर लगाउन ओली नै पुग्नु त्यसैको प्रमाण हो । प्रत्यक्ष नभनेपनि उसले मधेशी दलसँग चुनावी एकता गर्ने सुरसार छोडेको छैन । त्यसो त संविधानले व्यवस्था गरेको समानुपातिक चुनावी प्रणालीको प्रभुत्वका कारण पनि कुनै दललाई बहुमत पु¥याउनु फलामको चिउरा चपाउनुसरह छ ।

सत्तारुढ गठबन्धनबीच भाषणमा सहज देखिएपनि चुनावी मैदानमा उतिनै कठिन छ । सबै पार्टीमा चरम महत्वाकांक्षा छ । कांग्रेसमा कम्युनिष्टसंग गठबन्धन गर्न नहुने ठूलो मत छ । देशैभरिका कार्यकर्ताको अभिमत पाएपछि बल्ल संस्थागत निर्णय गर्ने भाका राखेका प्रधानमन्त्रीले दिने फोस्रो आश्वासनप्रति गठबन्धन दलका शीर्ष नेताहरु विश्वस्त हुन सकेका छैन्न । त्यसो त आफूले निर्णय गर्दैमा कार्यर्ताले भोट हाल्छन भन्ने विश्वास नेताहरुलाई छैन् । चितवनमा रणु दाहाललाई जिताउन आफ्नो दलको उम्मेद्वारी खोस्दाको आलोचना देउवाले अझै खेप्दै आउनुभएको छ ।

केपी ओलीसँग प्रतिशोध साँध्न पार्टी फुटाएर आएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका लागि पनि यो चुनाव गर या मरजस्तै हो । नेपाललाई सिध्याउने सर्तमा एमाले र माओवादी केन्द्रबीच चुनावी समीकरण बन्यो भने त्यसपछि पार्टीको भविष्य कस्तो रहला भन्ने प्रश्न उठेको छ ।

तात्कालिन स्वार्थका लागि जोसंग पनि गठजोड गर्ने प्रचण्डको स्वभाव चुनावी प्रकरण नहोला भन्ने छैन । प्रचण्ड र उनी निकटका नेताहरुको उत्तेजित अभिव्यक्ति त्यही यथार्थमा बल पु¥याउने खालका छन् । माओवादीले चुनावी तालमेलमा कांग्रेसले धोका दिइहाले माओवादीले एमालेसँग वा अन्य बामपन्थी साना दलसँग चुनावी तालमेल गर्ने रणनीति बनाएको छ ।

सरसर्ती हेर्ने हो भने स्थानीय चुनावमा दलहरुबीच एक्ला–एक्लै प्रतिस्पर्धा हुने छाँटकाँट देखिदैन । जनतालाई दिएको बचनलाई न्याय गर्न नसकेका दलहरुका लागि चुनाव पनि एकप्रकारणको सिण्डिकेट हो । अनिच्छा बाबजुद् पनि यिनै दलका उम्मेदवारलाई भोट हाल्नुपर्ने अवस्था छ । किनकी जनताको नो भोटको अधिकार सबै दल एकमत भएर कानूनमै उल्लेख गरी खोसेका थिए ।