
काठमाडौं । कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएकाे छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटकले अन्नपूर्ण अवलोकन गरेको जानकारी दिनुभयो । पदमार्गमा अहिले दैनिक ४० जना विदेशी पर्यटक ओहोरदोहोर गर्ने गरेको गुरुङले बताउनुभयाे ।
पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो । मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाह्य पर्यटकको आगमन बढेको बताउनुभएकाे हाे । कोरोना र चिसोका कारण थला परेको पर्यटन क्षेत्रमा पर्यटक आउन थालेसँगै पर्यटन क्षेत्र माथि उठ्ने विश्वास समेत गरिएको छ ।
लमजुङ जिल्लाकाे दरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।
अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्य मध्ये एक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्