
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईसँग लगातार दोस्रो हार व्यहोरेको छ ।
दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो ।
आसिफ शेखको स्थानमा आएका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् । उनी मात्र २ रन बनाएर पेभिलियन फर्किए । यस्तै अर्का ओपनर कुशल भुर्तेल लगातार तेस्रो खेलमा खराब प्रदर्शनलाई निरन्तरता दिँदै ५ रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले ३ ओभर नसकिंदै ८ रनमा महत्वपूर्ण ३ विकेट गुमाउन पुगेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । उनले ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए ।
अघिल्ला दुई खेलमा लयमा देखिएका रोहित पौडेल आज ९ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो । आरिफ शेखले ४० बलमा १५ र जोड्दा बिनोद भण्डारी दुर्भाग्यवस १२ रनमा आउट भए ।
सोमपाल कामीसँग दोस्रो रनको लागि तालमेल नमिल्दा बिनोद सहज रनआउट भए । सोमपालले १५ रन बनाएर पेभिलियन फर्किए । यूएईका जुनाइद सिद्दिकीले ४ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रनको योगफल खडा गरेको थियो ।
युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसबाहेक, मुहम्मद वसिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरविन्दले २४ र अलिसन सराफुले २१ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र करण केसीले समान दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।
शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । त्यसअघि नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।
डिभिजन २ मा १८ खेलबाट २२ अंक जोडेको युएई तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्