
काठमाडौं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएकोथियो ।
संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।
रेल्वे अध्यादेश जारी भईसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भईरहेको बताइएको छ । गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एकपटक सञ्चालन भइरहेकामा अहिले एक महिनामा १५ दिनमात्र चल्न थालेको छ ।
जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु ७० र वातानुकुलित सिटमा ३ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्