
काठमाडौं । नेपाली फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्वीकृति दिएको छ ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम) ले प्रतियोगिता आयोजनाका लागि एन्फासँग चैत २ गते अनुमति मागेको थियो ।
एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले एनइएसएमका कार्यकारी निर्देशक सुदीप शर्मालाई सम्बोधन गर्दै प्रतियोगिता आयोजनाको मिति उल्लेख गरेर पत्र दिएका छन् ।
पत्रमा चैत २५ गतेदेखि २०७९ जेठ १ गतेसम्मको समय उल्लेख गरिएको छ । यसअघि सहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने ४ क्लबले खेलाडी रिलिज गर्ने विषयमा एनएसलको विरोध गर्दै आएका थिए ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको विवाद समाधान कार्यदलले छलफल गरेपछि एन्फाले एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो ।
वार्तापछि ‘ए’ डिभिजन लिगका क्लब र एनएसएलमा सहभागी क्लबबीच सहमतिमा (क्लब टु क्लब डिल) गर्दै खेलाडी रिलिज गर्ने सहमति भएको बुझिएको छ । एनएसएल चैत २५ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्