
काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
बबरमहलमा बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनको लागि तयारी गर्नेछ ।
बैठकले ११ वटा कार्यसूचीलाई सर्वसम्मतिले पारित गरेको छ भने केही विभागहरू गठन भएको रिजालले बताउनुभयो । बाँकी विभागलाई पूर्णता दिनको लागि प्रमुख र उपप्रमुखलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै बैठकले स्थानीय तह निर्वाचनको मापदण्ड पनि तय गरेको छ । वडा तहको उम्मेदवारका लागि नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ भने गाउँपालिका र नगरपालिकाको उम्मेदवारका लागि जिल्ला कमिटीको सिफारिस प्रदेश कमिटीले निर्णय गर्नेछ ।
त्यसैगरी, उपमहानगर र महानगरको उम्मेदवार चयन गर्नका लागि प्रदेश कमिटीको सिफारिसमा केन्द्री कमिटीले निर्णय गर्नेछ । चैत मसान्तभित्र सबै उम्मेदवारहरूको सिफारिस कमिटीमा भइसक्ने र कम्तीमा १ महिलासहित तीन जनाको नाम सिफारिस गर्न पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्