२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पार्टीलाई पहिलो शक्ति रूपमा स्थापित गर्ने एमालेको लक्ष्य


65
Shares

काठमाडौं । नेकपा (एमाले)ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

केन्द्रीय कमिटीको बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको हो ।

बैठकले स्थानीय तह निर्वाचन घोषणापत्रको तयारीका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदल सदस्यहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, मधेश प्रदेशका सहईन्चार्ज प्रभु शाह, पार्टीका बुद्धिजिवी परिषद् इन्चार्ज मनोजजंग थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडा, स्थानीय विकास विभागका उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र इञ्जीनियर सुशिल ज्ञवाली विज्ञका रुपमा रहनुभएको छ ।

स्थानीय तह निर्वाचन घोषणापत्र बैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिवद्धतापत्र जारी गर्न लगाउने एमालेले जनाएको छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल सम्वाद गर्नुहुने जनाइएको छ ।

बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम पनि पारित गरेको छ । अन्य पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि केन्द्रीय संगठन विभागले अभिलेख बनाइरहेको र जिम्मेवारी दिनका लागि केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ ।