
एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोेदिमीर जेलेन्स्कीले रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप लगाएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको छ । युद्ध लम्बिदै जाँदा रुसले युक्रेनमाथि आक्रमण गर्न विभिन्न हतियारहरु प्रयोग गर्न थालेको युक्रेनको भनाई छ । त्यसमा फस्फोरस बम समेत रुसले प्रयोग गरेको युक्रेनको भनाई छ ।
रुसले फस्फोरस बमको प्रयोग गर्दा बालबालिका सहित धेरै युक्रेनी नागरिकको ज्यान गएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दावी गरेका छन् ।
रुस र युक्रेनबीचको युद्ध पछिल्ला दिनहरुमा झन् भीषण बन्दै गएको छ । रुसले गत फेब्रुअरी २४ बाट विना कारण युक्रेनमाथि आक्रमण सुरु गरेको हो । यो युद्धमा रुसले बिहिबार अर्थात २४ मार्चमा दोस्रो पटक फस्फोरस बम प्रयोग गरेको हो । दुई साता अघि युक्रेनको मानव अधिकारबादी संस्थाले पूर्वी युक्रेनको लुहांस्क को पोपास्ना शहरमा पनि रुसले फस्फोरस बमको प्रयोग गरेको दावी गरेको छ ।
के हो फस्फोरस बम ?
फस्फोरस एक प्रकारको केमिकल हो । यसको प्रयोगमा कुनै प्रतिबन्ध लगाइएको छैन । तर, आवासीय क्षेत्रमा यो बमको प्रयोगमा प्रतिबन्ध गरिएको छ । फस्फोरसको कुनै रङ हुदैन । तर कुनै– कुनै समयमा भने यो पहेँलो देखिन्छ । यो एक मैन जस्तै देखिने पदार्थ हो, जसको लसुनको जस्तो गन्ध हुन्छ । यो अक्सिजनको सम्पर्कमा आउने वित्तिकै बल्ने गर्छ ।
कति खतरनाक हुन्छ फस्फोरस बम ?
इन्टरनेसनल कमिटी अफ द रेडक्रस (आइसीआरसी) का अनुसार सेतो फस्फोरस बम हतियारले जलाएको अवस्थामा फस्फोरस फैलिन्छ । बलिरहेको फस्फोरसको तापक्रम ८ सय डिग्री सेल्सियस भन्दामाथि हुन्छ । यदि खुला ठाउँमा फस्फोरस बम खसेमा सयौँ किलोमिटर सम्म फैलिन सक्छ । यो बम त्यति बेलासम्म बलिरहन्छ जतिबेला सम्म समाप्त हुदैन वा अक्सिजन नसकिंदा सम्म बलिरहन्छ । सेतो फस्फोरस छाला वा मासुमा टासिने हुन्छ । यसको पोलाइको पिडा झनै गम्भीर हुने गर्छ । यसले छालाको सम्पर्कमा आउदा केमिकल बनाउँछ । त्यसलाई फस्फोरिक पेन्टोक्साइड भनिन्छ ।

यो केमिकलले छालाको पानीसँग रियाक्सन गरि फस्फोरिक एसिड बन्छ । जुन एकदमै खतरनाक हुन्छ । यसबाट प्रभाबित भएको अवस्थामा उपचारमा लामो समय लाग्छ । किनकी यसले आन्तरिक तन्तुहरूलाई क्षती पुर्याएको हुन्छ ।
बमको प्रयोगमा कानुन
सन् १९७७ मा स्वीजरल्याण्डको जेनेभामा भएको सम्मेलनमा आम नागरिकलाई खतरा हुने अवस्थामा यो सेतो फस्फोरसलाई प्रतिबन्ध लगाइएको थियो । यद्यपि यसलाई युद्धमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै सन् १९९७ मा रासायनिक हतियारको प्रयोग सम्बन्धी अन्तर्राष्ट्रिय कानुन बनेको थियो । जसमा आवसीय क्षेत्रमा प्रयोग गरिने हो भने सेतो फस्फोरसलाई रासायनिक हतियार मानिन्छ । रुसले पनि यो कुरामा हस्ताक्षर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्