
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १ लाखको संख्यामा माग भएको म्यादी प्रहरीका लागि करिब ३ लाख जनाले आवेदन दिएका छन ।
म्यादी प्रहरीका लागि २ लाख ९३ हजार २ सय ६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुबाट आवेदन लिइएको थियो । जसमा सबै भन्दा धेरै आवेदन मधेश र लुम्बिनी प्रदेशमा परेको छ । मधेशमा ६८ हजार ४९ जनाले आवेदन दिएका छन् ।
त्यस्तै, लुम्बिनीमा ५६ हजार १ सय ७४ आवेदन परेको छ । त्यसैगरी प्रदेश १ मा ४९ हजार ३ सय ४२, बागमतीमा ४४ हजार ३ सय ८२, सुदूरपश्चिममा २८ हजार ६ सय एक र गण्डकीमा २४ हजार ३ सय ६९ आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबै भन्दा कम कर्णालीमा १८ हजार ५ सय १४ आवेदन परेकाे छ ।
उपत्यकाका तीन जिल्लामा १३ हजार ९ सय ५० जनाले म्यादीमा भर्ना हुन इच्छा देखाएका छन् । प्रत्येक जिल्लाको संख्या तोकेर म्यादी प्रहरीमा भर्ना प्रक्रिया अघि बढाइएको छ । आवेदन दिएकालाई आइतबार सम्पर्क गर्न भनिएको छ ।
१५ चैतदेखि छनोट प्रक्रिया सुरु हुने र २२ गते अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्