१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा


676
Shares

काठमाडौं । मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ ।

शुक्रबार ठोरीमा बसेको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ठोरी क्षेत्रको पर्यटकीय हिसाबले महत्वपूर्ण बनाउन प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पनि बताउनुभयो । तराई मधेसको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको हो ।

भारतसँग सीमानाका जोडिएको कारण पनि यहाँ दिनहुँ हजारौँ भारतीय पर्यटकहरु आउने गर्छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ ।

नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गर्दछन् । पटेर्वासुगौली गाउँपालिकामा पर्ने बाबा दूधेश्वरनाथ महादेव भाठाधाम धार्मिक पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा वैशाख, साउन र माघ महिनामा लाग्ने मेलामा स्वदेश तथा छिमेकी देश भारतबाट लाखौँ भक्तजन आउने गर्दछन् ।

ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थलहरु छन् ।