
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्नुभएको छ ।
प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको उहाँले बताउनुभयो । उहाँले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिनुभयो ।
‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भन्नुभयो ।
ओलीले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताउनुभयो । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गर्नुभयो ।
‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौ भन्ने होला । नेपालमा किन रेल कुदायौ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्साङ्कन किन गरियो भन्ने होला ?’
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताउनुभयो । देउवा एमालेको पाखुरा देखेर डराएको उहाँको भनाइ छ ।
ओलीले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दाबी गर्नुभयो । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्