१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेविरुद्ध सबै दलहरू मोर्चा कसेर आउन ओलीको चुनौति


78
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौति दिनुभएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौति दिनुभएको हो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिदैँन भन्नेकुरा बुझे पनि सबै मिलेर एमालेसँग लड्न सकिदैन भन्ने कुरा चाहीँ नबुझेको टिप्पणी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री देउवाले दर्ता भएका सबै दलहरूलाई साथमै लिएर गए पनि एमालेलाई फरक नपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको मोर्चा झारपातहरुको मोर्चा भएको टिप्पणी गर्दै हलोमा लाग्ने लुँडीको संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो ।

‘मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर ल्याइयो, धुँदाधुँदा बागमती नै मैलियो,’ उहाँले भन्नुभयो, ‘युवाहरुले त देश बनाउनका लागि, देशमा जनवाद ल्याउनका लागि राम्रा सुखका दिन ल्याउनका लागि जनवादी शासन समादवादी शासन आउँछ भन्नका लागि ति देखाएका सपना, युवाहरुको गल्ती के भयो भने प्रचण्डजस्तालाई पत्याए ।’

अध्यक्ष ओलीले मुस्लिम समुदायका अगुवाहरूले मुस्लिम समुदायको पछौटेपन हटाएर जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो । मुस्लिम समुदायले छोरीलाई पढाउनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।