२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्थानीय तह निर्वाचनका माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ : प्रचण्ड


130
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचन माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताउनुभएको छ ।

देशमा आफूहरूले लडेर ल्याएको उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले अहिलेको निर्वाचन अरुका लागि निर्वाचन मात्रै भए पनि आफूहरूको लागि लडाइँ भएको बताउनुभयो ।

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताउनुभयो ।

अझै पनि अवसरवादी र प्रतिक्रियावादीहरूले माओवादी जनयुद्धको परिवर्तनलाई उल्टाउने षडयन्त्र गरिरहेको उहाँको भनाइ थियो ।

माओवादीले हारे गणतन्त्र र सयौं वर्षदेखिको अत्याचारमा राखिएको वर्ग समुदायको हक अधिकार खोसिने अध्यक्ष दाहालले जिकिर गर्नुभयो ।