
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ ।
चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १० दिन बसेर सोमबार सकिएको हो । महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको उहाँको भनाइ छ ।
यद्यपि संस्थागत रुपमा पार्टी निर्वाचनमा नगए पनि व्यक्तिगत रूपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधन गर्दै पारित भएको छ । चन्दले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
उहाँको प्रस्तावप्रति केन्द्रीय समिति सदस्यहरूले असहमति जनाएपछि संशोधनसहित पारित भएको हो । बैठकमा ६९ सदस्यीय केन्द्रीय समिति सदस्य मध्ये ४४ जना विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए ।
प्रतिक्रिया दिनुहोस्