
काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी श्रृंखलामा मलेसियाले विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ८ रनले हराउँदै मलेसियाले विजयी सुरुवात गरेको हो ।
मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ दशमलब ३ बलमा सबै विकेट गुमाएर मात्र १ सय ७२ रन जोड्न सक्यो । पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन ।
मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । मुहमद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रनको योगफल जोडेको थियो । मलेसियाका दुई ब्याट्स म्यानले अर्धशतकीय इनिङ्स खेले ।
स्कोरबोर्डमा १२ रन छँदा पहिलो विकेट गुमाएको मलेसियाका विरन्दिप सिंह र कप्तान अहमद फैजले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।
यसबाहेक, विरन्दिपले तेस्रो विकेटका लागि सेद अजिजसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । जितसँगै मलेशियाले पनि तालिकामा २ अंक जोडेको छ ।
यसअघि पिएनजीसँग १५ रनको जित निकालेको नेपालको समान दुई अंक छ । मलेसियाले अब बुधबार घरेलु टोली नेपालसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्