७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जनकपुर–जयनगर रेल्वे चैत १९ गतेदेखि सञ्चालनमा आउने


117
Shares

काठमाडौं । जयनगर–कुर्था (जनकपुर) रेल्वेको यही चैत्र १९ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले भर्चुअल रूपमा सीमापार रेल सेवा सुरुवात गर्ने भएका हुन् । सन् २०१४ देखि रेलमार्ग स्तरोन्नतिका लागि भारतले रेल सेवा बन्द गरेको थियो ।

रेल चलाउने गरी सरकारले २०७८ चैत्र ८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर गति परीक्षण गरी भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो ।

३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

तर, विविध कारण देखाए रेल चलाउन अलमल हुँदै आएको थियो । यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच हस्ताक्षर भइसकेको छ । अन्तरदेशीय रेलमार्ग भएकाले भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका विषयहरुलाई सम्झौताले सम्बोधन गरेको छ ।

महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्नेबारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कताबारेका व्यवस्था पनि सहमति भइसकेको छ ।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र प्रशिक्षण दिन भारत सहमत छ ।

जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित असोज २०७७ पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरू एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।

पछिल्लो महिनामा भने परीक्षणका रूपमा रेल नियमित रूपमा रित्तै चलाउन सुरु गरिएको थियो ।