
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भुमिका खेलेको भएपनि त्यस अनुसार सबैले स्वीकार गर्न नसकेको दुःखेसो गर्नुभयो ।
प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताउनुभएको छ । उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडी बढाउन आफुहरु प्रष्ट रहेको बताउनुभयो ।
उहाँले गठबन्धनको सम्बन्धमा कांग्रेस केन्द्रीय कमिटी बैठकले निर्णय गरेसँगै अब गठबन्धन हुने कि नहुने भन्ने दुविधा नरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभयो ।
उहाँले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्