
काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा सहभागी हुनुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको र राक्षसबाट पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर ऊक्त राक्षसलाई संहार गरेको किंवदन्ती प्रचलित छ ।
तर, पनि राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेकोले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन रहेको छ ।
शहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने हेतुले आज राति नै त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । त्यसो गर्नाले वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास रही आएको छ ।
नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन पनि गरेको थियो ।
त्यस्तै सेनाले साइकल रेश, टांगन घोडा दौड, शो जम्प, चार्र्जर घोडा दौड, क्याभ्लरी ड्रिल राइड, टेण्ड पेगिङ्ग लगायतका कार्यक्रम गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्