
काठमाडौं । जिल्लाको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले सहकारी राजनीति गर्ने क्षेत्र नभएको बताउनुभएको छ ।
सहकारी सेवामुलक क्षेत्र भएको र नगरभित्र मात्र नभएर अन्यत्र पनि सहकारीमा राजनीति भएको आफूले नपाएको उहाँले बताउनुभयो ।
६५औं राष्ट्रिय सहकारी दिवशको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड काठमाडौं, तारकेश्वर नगर उप समितिले शुक्रबारआयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोहराले स्थानीय सरकारहरू सहकारीसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
स्थानीय तहमा पालिका सहकारी शाखा स्थापना हुनु आफैंमा राम्रो सुरुवात भएको भन्दै उहाँले आउँदा दिनहरूमा अझ व्यवस्थित गर्दै लगिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले केही सहकारीले अझै पनि प्रविधिलाई उच्चतम प्रयोग गर्न नसकेको भन्दै प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका सहकारी शाखाका प्रमुख तीर्थराज थापाले पालिकाले समन्वयका अलावा निरन्तर अनुगमन र निरीक्षण समेत गरिरहेको बताउनुभयो । नितिगत परिधिभित्र रहेर आइपरेका समस्यालाई निरुपण गरिने उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका सदस्य अमरावती महर्जन, सीता घिमिरे, राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख बिनोद भट्टराई, स्थानीय बैंक तथा बित्तीय संस्थाका प्रमुख, पालिका भित्रका सहकारीकर्मीहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सहकारी महासंघले यस वर्षका लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा तय गरेको थियो ।
वि.सं.२०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनलाई नै सहकारी स्थापना दिवस मनाउने गरिएको छ । सहकारी विभागका अनुसार हाल देशभर ३४ हजार भन्दा बढी सहकारीहरू छन् ।
प्रतिक्रिया दिनुहोस्