१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्सामा चुनावी सरगर्मी तीव्र, संगठन विस्तार र पार्टी प्रवेशमा नेताहरू


377
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ ।

राजनीतिक दलहरूले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् । केन्द्रीयस्तरका नेतालाई बोलाउने र राजनीतिक प्रभाव तयार गर्ने कार्यक्रमले जिल्लामा चुनावी माहोल तातेको स्पष्ट हुन्छ ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत सबै दलले चुनाव केन्द्रित कार्यक्रम थालेका छन् । एमालेले पर्साका ग्रामीण भेगमा संगठन विस्तार गर्दै पार्टी प्रवेश कार्यक्रमलाई जोड दिइरहेको छ ।

स्वतन्त्र उम्मेदवारको चाहाना राख्नेहरू पनि भेटघाटमा व्यस्त देखिन्छन् । जिल्लामा एक महानगरपालिका, ३ नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा स्थानीय तह छन् ।

पर्सामा हालसम्म सत्ता गठबन्धन मध्येको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बाहेक सबै पार्टीका अध्यक्ष र शीर्ष नेताहरू आइसकेका छन् ।

मधेश आन्दोलनका बेला चर्चामा आएका नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरिरहकै बेला वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उहाँ असन्तुष्ट भएर जसपा प्रवेश गर्नुभएको हो ।

हालै एमालेमा प्रवेश गर्नुभएका वीरगञ्ज महानगरप्रमुख सरावगीले एमाले अध्यक्ष ओलीले लिपुलेकलाई नेपाली नक्सामा हालेर नेपालको राष्ट्रियताको पहिचान स्थापित गराएकाले आफू त्यसबाट प्रेरित भएर एमाले रोजेको बताउनुभयो ।

स्थानीय जानकारहरूका अनुसार यसपटक वीरगञ्ज महानगरपालिकामा एमाले, कांग्रेस र जसपाकै बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।