१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्छ : राष्ट्रपति भण्डारी


325
Shares

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनु सम्बन्धित पक्षले विशेष महत्व दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने, पानीमा मूलहरू बचाउने र जैविक विविधताहरुको रक्षा गर्ने कार्यमा पनि जोड दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

उहाँले काष्ठमण्डप पुनर्निर्माणको काममा योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, सम्पदावीद्हरु र स्थानीयबासीलाई पनि धन्यवाद दिनुभयो ।

राष्ट्रपति भण्डारीले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुशीको विषय भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमीहरू उत्साहित हुनेगरी आफूहरूले सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।

उहाँले काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति पनि आभार व्यक्त गर्नुभयो ।

मेयर शाक्यले सम्पदाहरुको पुनर्निर्माणका लागि स्थानीयबासीको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराउनुभयो । उहाँले २०७२ सालको भूकम्पले क्षति पु¥याएको बाँकि सम्पदाहरूको पुनर्निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने आश्वासन दिनभयो ।