१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइन्छ : मन्त्री भुसाल


91
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको इजाजतपत्र दिइने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भए पनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भए पनि प्रक्रियागत रूपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उहाँले बताउनुभयो ।

संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको इजाजतपत्र दिइने उहाँले बताउनुभयो ।

‘अध्यादेशकै विधिद्वारा भएपनि हामी विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा सरकार, मेरो मन्त्रालय, म पुरै हामी सकारात्मक र प्रतिवद्ध छु,’ उहाँले भन्नुभयो, ‘त्यसको समाधान कुनबाटोबाट म प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गर्छु, हामी त्यो दिनेछौं ।’

मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतिय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । पेट्रोलियम पद्धार्थको विकल्पका रूपमा जलविद्युत्लाई लिइनुपर्ने उहाँको भनाइ छ ।

उहाँले आगामी आर्थिक वर्षको बजेटमा विद्युतिय उपकरणको प्रयोगलाई बढाउने दिनेगरी नीतिगत रुपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने पनि बताउनुभयो ।