
काठमाडौं । कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।
कोभिड–१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरूको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताउनुभयो ।
छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएका छन् । सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको थियो ।
बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उहाँले उल्लेख गर्नुभयो । अहिलेकै अवस्थामा अगाडि बढेमा अक्टोवरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उहाँले बताउनुभयो ।
विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई फोकस गरेर मार्केटिङ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
डा. रेग्मीले नेपालको पर्यटन बजार बिस्तारका लागि भारतीय पर्यटहरुलाई प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्