१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२०७४ सालको चुनावलाई हेरेर सिट बाडफाँड गरे मान्य हुँदैन : बाबुराम भट्टराई


2.431k
Shares

बुटवल । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा २०७४ सालको निर्वाचन हेरेर सिट बाडफाँड गरिए आफुहरूलाई मान्य नहुने बताउनुभएको छ ।

जनता समाजवादी पार्टीले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सम्मान्नजनक सिटको बाडफाँड भए मात्र गठबन्धनबाट चुनाव लड्ने बताउनुभयो ।

भट्टराईले आफूहरूको पार्टी नयाँ भए पनि भविष्यमुखी पार्टी भएको दाबी गर्दै जसपा हुर्किदै गएको पार्टी भएको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरूलाई मर्न लागेको पार्टीको संज्ञा दिनुभयो । सम्मानजनक तालमेल गरेर उम्मेदवारी दिने वातावरण गठबन्धनबाट बन्नुपर्ने उहाँको भनाइ छ ।

अहिलेको संविधान र लोकतन्त्र पूर्ण नभएको अध्यक्ष भट्टराईको भनाइ छ । राजा गएर गणतन्त्र आएर गाउँ–गाउँमा सिंहदरबार आयो भन्दा गाउँ–गाउँमा छोटे राजा आएको मान्छेहरूले भन्न थालेको उहाँले बताउनुभयो ।

पहिले भ्रष्ट्राचारी दरबार, सिंहदरबारमा मात्र थिए अहिले प्रदेश र गाउँ–गाउँमा भ्रष्ट्राचारी पुगेको जनगुनासो आउन थालेको उहाँको भनाइ छ ।