
एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारमा रहेका ४० भन्दा बढी सांसद उनकाे समर्थन फिर्ता लिएका छन् ।
राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० सांसदले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै अब आफूहरूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।
आर्थिक र विदेशी मुद्रा संकटका कारण विद्युत कटौती र अभावको सामना गरिरहेको श्रीलंकामा राजनीतिक संकट पनि गहिरिएको छ । अलग भएका सांसदहरूले विपक्षीलाई समर्थन गर्ने विषयमा केही खुलाएका छैनन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै विपक्षीले सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन गर्दै आएका छन् ।
राजापाक्षेको मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसअघि नै सामूहिक राजीनामा दिएका थिए । तर, राष्ट्रपति र उनका भाइ प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने राजीनामा नदिने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्