
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्न लागेको आरोप लगाउनुभएको छ ।
वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उहाँले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’
ओलीले अगाडि भन्नुभयो, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’
यस्तै, अध्यक्ष ओलीले केही स्वार्थी व्यक्तिले आफू मधेशविरोधी रहेको हल्ला चलाएको बताउनुभयो ।
‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उहाँले भन्नुभयो, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’
प्रतिक्रिया दिनुहोस्