२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


उद्योगी व्यवसायीहरूको माग सम्बोधन गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण


78
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरूको मागलाई सम्बोधन गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरूका अहिलेका समस्या र मागहरूलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरूका धेरै समस्या रहेकाले व्यवसायीहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्ष जनशक्ति उत्पादनको लागि तालिम केन्द्र, ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको नीति कार्यान्वयन गर्नुपर्ने र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमा नै स्वरोजगार बढाउन विशेष नीति लिन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

त्यस्तै उपराष्ट्रपति पुनले निजी क्षेत्रले वैदेशिक लगानी भित्र्याउनको लागि निर्यात व्यापार प्रवर्द्धनमा योगदान पुर्याउनुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा आएको चुनौतिको कारण उद्योगी व्यवसायीहरूले विदेशमा नभएर स्वदेशमा नै लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले पछिल्लो समय मुलुकको व्यापार घाटा बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभयो । उहाँले विगतमा नेपालले विदेशमा औधोगिक वस्तु निर्यात गर्ने भए पनि अहिले वस्तु उत्पादन गर्ने उद्योगहरू रुग्न बन्न पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

दैनिक उपभोग्य वस्तुदेखि ठूला निर्माण सामाग्री समेत आयात गरिरहेका भन्दै उपराष्ट्रपति पुनले यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले पछिल्लो समय उद्योगी व्यवसायीहरूले समेत उत्पादित वस्तु बिक्रि वितरण भन्दा पनि विदेशी बस्तु आयातमा जोड दिएको बताउनुभयो । उहाँले यस्तो प्रवृतिमा सुधार ल्याउँदै सबै प्रकारको वस्तु देशभित्र नै उत्पादन गर्ने र स्वदेशी उत्पादनको उपभोग गर्ने सोचको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले हामी उद्योगी व्यवसायी र सबै नागरिक जिम्मेवारी भएर स्वदेशमा उत्पादित वस्तुको प्रवद्र्धनमा जोड दिन जरुरी रहेको बताउनुभयो ।