
काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले यहि चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।
काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंमा आम सभा गर्न लागेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले चैत २५ गते काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउनका लागि पार्टीका नेता र कार्यकर्ता तयारीमा जुटेका इमेजखबरलाई जानकारी दिनु भयो । सोही विषयमा पार्टीको बागमती प्रदेश समितिले मंगलबार काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीको बारे समीक्षा गरेको छ । बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक एवं पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउदै पार्टीले शक्ति प्रदर्शनको तयारी गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकमा पार्टी उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारीबारे बैठकलाई जानकारी गराउनु भएको थियो ।
देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले बैशाख ९ गतेसम्मको आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ति दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठको दाबी छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौ,ललितपुर र भक्तपुरका पार्टी अध्यक्षहरुले आमसभाका लागि आ–आफ्नो पक्षबाट भइरहेको तयारी बारे पनि बैठकमा जानकारी गराएका थिए ।
काठमाडौंमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूद्वारा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं उपत्यका बाहिरका आमसभामा राप्रपाले बिभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई पनि राप्रपामा प्रवेश गराएको छ ।
प्रतिक्रिया दिनुहोस्