१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गर्‍यो’


416
Shares

काठमाडौं । अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा अर्थविद्हरूले नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदासमेत सरकारले उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरे ।

अर्थविद् डाक्टर डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेतहरु राम्रो नभएको र गम्भीर संकटतर्फ गइरहेको चेतावनी दिनुभयो ।

अर्थविद्हरूले देशको अर्थतन्त्र गम्भीर रहेको कुरा बारम्बार भने पनि सरकारका जिम्मेवार व्यक्तिहरुले यसमा चासो नदिएको उहाँको भनाइ थियो ।

खनालले जिम्मेवार पक्षले अर्थतन्त्र सुधारमा चासो नदेखाउँदा श्रीलंकाको झल्को आएको बताउनुभयो ।

अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आँकलन गर्न नै गाह्रो हुन थालेको बताउनुभयो ।

नेपालमा अहिले अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभइरहेको भन्दै उहाँले यी तीनै अंग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्ने बताउनुभयो ।

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताउनुभयो । भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको उहाँको भनाइ छ ।

अर्थविद् अधिकारीले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र अन्य मन्त्रालयहरू मिलेर मौद्रिक नीतिबाट भएको नकारात्मक कुरालाई आर्थिक र वित्तिय नीतिबाट हस्तक्षेप गर्नुपर्ने सुझाव दिनुभयो ।