
काठमाडौं । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नै पालिकाबाट पाउने भएका छन् ।
सरकारले गत चैत १३ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुुसार सो रोगका व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत् नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तीन/तीन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने उहाँले बताउनुभयो ।
उपचार खर्च बापतको रकम पहिले नै पेन्सन पाइराखेकाहरूले नपाउने तर जेष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भए पनि पाउने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्