१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अर्थतन्त्र चुनौतिपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था भएको छैन : उपाध्यक्ष ढकाल


286
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताउनुभएको छ ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताउनुभएको हो ।

उहाँले हामीले स्वदेशमा उत्पादित बस्तुहरूको जबसम्म उपभोग गर्दैनौं तबसम्म रोजगारी सिर्जना र आर्थिक समृद्धि हुन नसक्ने बताउनुभयो ।

उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनुभयो । उहाँले तरलता अभावको कारण बैंकहरूले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गर्नुभयो ।

उपाध्यक्ष ढकालले बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताउनुभयो । उहाँले बैंकहरूमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायिक गतिविधिहरू अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो ।

त्यस्तै पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले निजी क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाउनुभयो ।

सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरूको मनोबल खस्काउने काम गरेको दुगडले बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको खस्केको मनोवल कसरी बढाउने भन्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

पूर्वराज्य मन्त्री दुगडले सरकारले निजी क्षेत्रलाई हेपेर अपराधीको जस्तो व्यवहार गरेको बताउनुभयो । उद्योगी व्यवसायीहरूले सानो गल्ती गर्दा समेत सरकारले उद्योग बन्दै मन्त्रीहरू हिरो बन्ने काम गरेको बताउनुभयो ।