
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संघीयतामा सार्वजनिक प्रशासन बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उहाँले संघीयतालाई बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन पनि बलियो बन्ने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले संघीयता बलियो र प्रभावकारी बनाउन नसके पुस्तक लेखर मात्रै नहुने बताउनुभयो ।
संघीयतामा सार्वजनिक प्रशासनलाई प्रभावकारी कार्यान्वयनमा लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रमुख आयुक्त थपलियाले नेपाल संघिय संरचनामा गए पनि सार्वजनिक प्रशासन केन्द्र निर्देशित र केन्द्र नियन्त्रित शासन व्यवस्था रहेको बताउनुभयो ।
उहाँले संघीयता भनेको संघीय सरकारको सार्वजनिक प्रशासन मात्रै नभएको बताउनु भयो ।
त्यस्तै महालेखा परीक्षक टंकमणि शर्माले संघीयतामा जाँदा अधिकांश स्थानमा अधिकार राजनीतिक नेताहरूले लिने गरेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन गर्ने सिलसिलामा अतिव्यापी नक्कल गर्ने काम पनि भइरहेको बताउनुभयो ।
महालेखा परीक्षक शर्माले नेपालमा ७० प्रतिशत कर्मचारीहरू काम नगर्ने कर्मचारीहरू रहेको अध्ययनले निस्कर्ष निकालेको भन्दै यसमा सरकारले गम्भीर हुनुपर्ने बेला आएको बताउनुभयो ।
त्यस्तै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले कुनै पनि राजनीतिक दल संघीयताप्रति समर्पित नरहेको आरोप लगाउनुभयो । उहाँले देश संघीयतामा गयो भन्ने कुरा नारामा मात्रै सीमित भएको र अझै पनि राजनीतिक दलका नेताहरूको मानसिकता केन्द्रिकृत रहेको बताउनुभयो ।
डा. कोइरालाले व्यवस्था फेरिए पनि प्रशासकीय संरचनामा हुनुपर्ने परिवर्तन हुन नसकेको बताउनुभयो । कार्यालयहरूमा प्रजातन्त्रमा कसरी जनतासमक्ष लैजाने भन्ने चिन्ता र चुनौति कुनै पनि राजनीतिक दलहरूमा नरहेको भन्दै उहाँले संघीयताले बोर्डमात्र फेरेको बताउनुभयो ।
पूर्व मुख्यसचिव कोइरालाले सबै क्षेत्रमा सुसंस्कृत समाज निर्माण गर्ने हो भने सबैभन्दा पहिला शासन व्यवस्थामा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्