५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


हिसानले २५ र २६ गते राष्ट्रिय महाधिवेशन गर्ने


117
Shares

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

बुधबार संघले काठमाडौं पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रूपमा वार्षिक रूपमा लाखौँ विद्यार्थी बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभई सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरूको उपस्थिति रहने बताउनुभयो ।

महासचिव भण्डारीले महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरू बीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न, निजी शिक्षालयहरूको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको पनि बताउनुभयो ।

त्यस्तै संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनुपर्ने बताउनुभयो । उहाँले विदेशी र नेपाली शिक्षालयको शिक्षामा नै विभेद भएको भन्दै त्यसलाई हटाउनु पर्ने बताउनुभयो ।

सिलवालले सरकारले वहन गर्नुपर्ने जिम्मेवारी निजी क्षेत्रले गरिरहेको र अझै धेरै गर्न तत्पर रहेको तर सरकारले त्यो वातावरण सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो ।

हिसानले उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ आफ्नो आठौं महाविधेशन गर्न लागेको हो । महाधिवेशनमा विभिन्न शैक्षिक क्षेत्रमा गर्नसक्ने विकासका कामको बारेमा पनि गोष्ठी हुने बताइएको छ ।