
काठमाडौं । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनबाट दिइने प्रारम्भिक तालिम इलाम नगरपालिका–८ मा रहेको चट्टान आरोहणमा १ हप्ताको लागि संचालन भएको हो ।
याम बहादुर (कमल) फाउण्डेशन इलामले आयोजना गरेको चट्टान आरोहण तालिममा कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर र सुसान्त ढुंगेलले प्रशिक्षण दिनेछन् । इलाम नगरपालिकाको सहयोगमा भएको तालिममा इलामका विभिन्न ठाउँका १० जना युवाहरुको सहभागिता रहेको छ ।
बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्यले तालिम सञ्चालन गरेको जनाइएको छ । तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिँदै जाने जनाइएको छ ।
इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलामलाई उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्