
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मध्यरातिदेखि निर्वाचन आचार संहिता लागू हुँदैछ ।
निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ ।
आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँदैन । यसैगरी, कुनै पनि योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम पनि गर्न पाइँदैन ।
यस्तै, निर्वाचन आयोगले चुनावमा जाने राजनीतिक दल वा उम्मेदवारहरुका लागि पनि आचारसंहिता बनाएको छ । जसअनुसार भड्किलो प्रचार प्रसार गर्न बन्देज गरिएको छ भने सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि स्थानीय प्रशासनबाट ७२ घण्टा अगावै अनुमति लिनुपर्ने छ । प्रचार प्रसार पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने छ ।
यस्तै, कुनै पनि दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला जस्ता सामग्री वितरण गर्न तथा प्रयोग गर्न पनि बन्देज लगाइएको छ ।
उम्मेदवारले ‘ए–फोर’ साइजको कागजमा आफ्नो व्यक्तिगत विवरण र योजना बनाएर वितरण गर्न भने पाउने छन् । प्रचारमा साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा लगायतका सवारी साधन प्रयोग गर्न पाइने छैन । तर, चुनाव प्रचारमा जान हेलिकप्टर भने प्रयोग गर्न पाइने छ । सरकारी तथा निजी मिडियाहरुले पनि पक्षधरता देखिने गरी सामग्री सम्प्रेषण गर्न पाउने छैनन् ।
यस्तै, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, गैरसरकारी संस्था, विश्वविद्यालय वा विद्यालयका शिक्षक, कर्मचारी, निजी क्षेत्र र मतदातालाई समेत निर्वाचन आचारसंहिता लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्