१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आचार संहिता लागू हुनु अघिल्लो दिन सरकारले गर्‍यो सय भन्दा बढी नियुक्ति


728
Shares

काठमाडौं । निर्वाचन आयोगले आजदेखि स्थानीय चुनावका लागि आचारसंहिता लगाउने भएपछि सरकारले बिहीबार नै नियुक्ति तथा सरुवा बढुवा सम्बन्धि काम सकेको छ ।

बिहीबार साँझ चार घण्टासम्म बसेको मन्त्रिपरिषद् वैठकले मन्त्रिमण्डलमा नयाँ नियुक्तिदेखि राजदूतहरुको सिफारिस र खाली स्थानहरुमा पदपूर्ति गरेको छ । सरकारले बिहीबार मात्रै गरेका नियुक्ति र नियुक्तिका सिफारिसहरु एक सय भन्दा बढी रहेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार नै सांसद नरहेका गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका आफन्त समेत पर्ने बन्दीलाई कानुनमन्त्री बनाएर बिहीबारै सपथ गराइएको छ भने कानुनमन्त्री रहेका दिलेन्द्र बडूलाई उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवाका ८ जना र राजनीतिक नियुक्ति पाउने गरी १२ जनालाई राजदूतमा सिफारिस गरेको छ । राजदूतमा सिफारिस गरिएकाहरुमा चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल रहेका छन् । त्यस्तै दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदीको नाम सिफारिस भएको छ ।

यस्तै, परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस भएका छन् ।

यस्तै, नेपाल टेलिकममाको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रमुख रहेका पौडेल सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका ब्यक्ति समेत हुन । यस्तै हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा बसन्त पाण्डेलाई नियुक्त गरिएको छ । भूमि आयोगका जिल्ला प्रमुख र सदस्यहरु नियुक्त गर्न बाँकी रहेका जिल्लामा पनि नियुक्ति गरिएको छ ।