
बागलुङ । बाग्लुङको तमानखोला गाउँपालिका– २ मुुठाचौर पर्यटकीय हिसाबले निकै मनमोहक भए पनि विकासको पूर्वाधार नबन्दा ओझेलमा परेको छ । सडक, विद्युत र खानेपानीको पहुँच नहुँदा स्थानीयले विभिन्न समस्याहरु भोग्दै आएका छन् ।
मुुठाचौरका करिब एक सय घर परिवार हरेक वर्ष ४÷५ महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी गाउँमा झर्ने गर्छन् । मुठाचौर माथिल्लो क्षेत्र (लेक) मा पर्छ भने भयरबोङ्गा, कटेरी गाउँ केही तल पर्छ । खासगरी उनीहरु वर्षाको समयमा मुठाचौर र हिउँदको समयमा भयरभोङ्गा र कटेरीमा बस्ने गर्दछन् । उनीहरु असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कार्तिक लाग्दा साथ गाउँ झर्ने गर्दछन् ।
मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबालीहरु उत्पादन गर्ने गर्दछन् । प्राकृतिक सौन्दर्यले भरिएको मुठाचौर विकासका पूर्वाधारले भने पछाडि छ । तमानखोला गाउँपालिकाले कटेरी गाउँको शिरसम्म मोटरबाटोले जोडे पनि मुठाचौरसम्म पुर्याउन सकेको छैन । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ ।
तमानखोला गाउँपालिकाको मत्वपूर्ण पर्यटकीय स्थल बराह ताल नजिकै रहेको यस ठाउँमा माटो, ढुङ्गा र काठले बनेका घरहरु छन् । त्यस वरपर समथर भू–भाग, मकै, आलु फल्ने बारीहरुले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । प्राकृतिक रुपले सुन्दर भए पनि सडक लगायतका विकासका पूर्वधारहरुले जोडिन नसक्दा मुठाचौर ओझेलमा परेको छ ।
सडक, विद्युत र खानेपानीको पहुँच नहुँदा आफूहरुले वर्षौँदेखि समस्या भोग्दै आएको स्थानीय भीमकुमारी रसाइलीले बताउनुभयो । सडक संजालले मुठाचौर नजोडिँदा नुन, तेल र खाद्यान्न मान्छेलेनै बोकेर खानु पर्ने अवस्था रहेको रसाइलीको भनाइ छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर क्रमागत रुपमा विकास गरिरहेको भन्दै यस ठाउँका नागरिकलाई आवश्यक पर्ने सबै खाले विकासका पूर्वाधार निर्माण गर्न गाउँपालिका लागि रहेको बताउनुभयो ।
पर्यटकीय हिसाबले मनमोहक भए पनि मुठाचौर विकासको पूर्वाधारले नजोडिँदा ओझेलमा परेको छ । सम्बन्धित निकायले यसको विकास र प्रचारप्रसारमा जुटे मुठाचौरमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिनेमा शंका छैन ।
प्रतिक्रिया दिनुहोस्