१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्थतन्त्र धराशायी बनेको छैन, सामान्य चाप देखिनु नौलो कुरा होइन : मन्त्री झाँक्री


962
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताउनुभएको छ ।

शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताउनुभयो ।

हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको उहाँको भनाइ छ ।

‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन, अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन, नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन,’ उहाँले भन्नुभयो ।

मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताइन् ।

खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेन बीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिन आवश्यक नरहेको उहाँको भनाइ थियो ।

अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।