२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


कृषि नीतिले वास्तविक किसानहरुको पहिचानमाथि नै प्रहार गर्यो : अधिकारी


182
Shares

काठमाडौं । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर किसानहरुको पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।

आइतबार खाद्यका लागि कृषि अभियानले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संयोजक अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले कृषिलाई दीर्घकालीन रुपमा अगाडि बढाउने कुरामा स्थानीय सरकारहरुको दीर्घकालीन दृष्टिकोण नदेखिएको बताउनुभयो ।

संयोजक अधिकारीले आगामी आसन्न स्थानीय तहको निर्वाचनमा हरेक पार्टीले आफ्नो घोषणापत्रमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने र प्राङ्गरिक कृषिलाई बढाउनु कुरामा जोड दिन आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले केही दलहरुका पार्टीका घोषणापत्रमा आगामी १० वर्षमा नेपाललाई प्राङ्गरिक देश बनाउने भनिएपनि रासयनिक मल कारखाना खोल्ने कुरामा पनि त्यत्तिकै जोड दिएको बताउनुभयो ।

संयोजक अधिकारीले नेपालमा रैथाने बीउबिजनहरु ध्वस्त भएको भन्दै कृषिलाई बचाउने कुराको सबैले मनन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आजका किसान सरकारले बनाउन खाजेको कृत्रिम किसान भएको भन्दै वास्तविक किसानहरु अझै पनि सरकारको मापदण्डमा नरहेको उल्लेख गर्नुभयो । संयोजक अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति ल्याउँदा वास्तविक किसानहरुको मनोबल घट्दै गएको र आज किसान भनेको एउटा कम्पनी जस्तो भएको बताउनुभयो ।