१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वायत्तताका लागि पूर्वाधार बन्नुपर्छ : गण्डकी प्रदेश प्रमुख गुरुङ

जातीय आधारमा अधिकार माग्दा नेपाली हुँ भन्ने नभुल्न आग्रह

299
Shares

चितवन । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले स्वायत्तताको लागि पूर्वाधार बलियो हुनुपर्ने बताउनुभएको छ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको ऐतिहासिक चौथो राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्दै गुरुङले राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्न आग्रह गर्नुभयो ।

राजनीतिमा सहभागिता बढाउन सकेमात्र मुद्दा स्थापित गर्न सहज हुने भन्दै पर्याप्त अभ्यास गरी केन्द्र सरकारको ध्यानाकर्षण गराउन उहाँको सुझाव छ ।

विविधतामा एकता रहेको नेपालमा जातीय आधारमा राज्य हुनुपर्छ भन्नू उपयुक्त नहुने भन्दै उहाँले राजनीतिबाट पर राखेर गुरुङहरूको भाषा, संस्कृतिको सरक्षणामा जुट्न आग्रह गर्नुभयो ।

गुरुङ एक्लैले स्वायत्त खोजे सम्भव नहुने भन्दै जातीय अस्तित्वका लागि संविधानमा भएको व्यवस्थालाई आधार मानेर कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै आफ्नो अधिकार खोज्दै गर्दा अन्य जातिलाई असर पर्न नहुनेमा सजग हुन उहाँले आग्रह गर्नुभयो ।

गुरुङ समुदायले गण्डकी प्रदेशको नामाकरण तमुवान हुनुपर्ने र गुरुङ भाषालाई सरकारी कामकाजको भाषामा मान्यता दिनुपर्ने माग राख्दै आएका छन् । तर, अधिकार माग गर्नुअघि भाषा लिपिको विकास हुनुपर्नेमा उहाँकमो जोड छ ।

प्रदेश प्रमुख गुरुङले जातीय आधारमा अधिकार माग गर्दै गर्दा पहिला हामी नेपाली हो भन्ने बुझेर आफ्ना एजेण्डा अगाडि बढाउन आग्रह गर्नुभयो ।

नयाँ नेतृत्व राजनीतिबाट माथि रहेर गुरुङ जातिको भाषा, धर्म, संस्कृतिको संरक्षण गर्न सक्ने क्षमतावान साथै हक अधिकार माग गर्दै समुदायलाई एकीकृत गर्न सक्ने नेतृत्व चयन गर्न उहाँले सुझाव दिनुभयो ।

महाधिवेशन भोलिसम्म चल्ने केन्द्रीय अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।